साउन १३,काठमाडौँ । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो ।
प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संयुक्त रुपमा संसदमा अवरोध गरेका थिए ।
राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले आफूहरुले उठाएका मागको विषयमा आजसम्म कुनै प्रगति नभएकाले संसद बैठक चल्न नदिने चेतावनी दिए ।
उनले भने, ‘यी दुवै हत्या गैरन्यायीक हुन् । त्यसको संसदीय छानविन हुनुपर्छ । तर, अहिलेसम्म केही प्रगति भएको छैन । त्यसैले हामी वेलमै हुन्छौं ।’
सरकारले आत्मरक्षाको लागि गोली हानेको दाबी गरे पनि कुमार पौडेलको शवको प्रकृति हेर्दा त्यसमा विश्वास गर्न नसकिने यादवको भनाइ छ । ‘मारिएको व्यक्तिको तीन–तीन ठाउँमा हात भाँचिएको छ, दाँत झरेको छ । स्थानीयले फेक इन्काउन्टर हो भनेका छन् । त्यसैले घटना शंकास्पद छ ।’
सरोजनारायण सिंहको मृत्युलाई यादवले ‘मधेसीलाई देख्नेवित्तिकै गोली हान्ने मनोविज्ञान’ भनेर टिप्पणी गरे ।