साउन २६, काठमाडौं । भारतीय काँग्रेसमा लामो समयदेखिको नेतृत्व संकटबीच सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको छ ।
कांग्रेस कार्यसमितिको बैठकले पार्टीकी पूर्व अध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । एक महिनाअघि नै सोनियालाई अन्तरिम अध्यक्ष बन्न आग्रह गरेपनि उनले स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी थिइन् ।
बैठकले अध्यक्ष राहुल गान्धीले पदबाट दिएको राजीनमा स्वीकृत गर्दै सोनियालाई अन्तरिम अध्यक्ष बनाएको कांग्रेस नेता गुलाम नबी आजादले बताए । बैठकले कुशल नेतृत्वका लागि राहुल गान्धीलाई धन्यवाद दिएको छ ।
लोकसभा चुनावमा भारतीय काँग्रेसले ठूलो हार भोगेपनि गान्धीले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै काँग्रेसले पार्टीलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।
पार्टीको पूर्णकालीन अध्यक्ष चयन नभएसम्मका लागि सोनियालाई अन्तरिम अध्यक्ष बनाएको हो । भारतीय कांग्रेसको नयाँ अध्यक्षका लागि शशि थरुर, ज्योतिरादित्य सिन्धिया, मुकुल वास्निकलगायतका नेताको नाम चर्चामा छ ।