टर्की र रुसबीच ऐतिहासिक सहमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ७, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाडौं । टर्की र रुसबीच लामो बैठकपछि उत्तरी सिरियामा कुर्द लडाकूविरुद्ध टर्कीले गरेको कारबाही र त्यसबाट उत्पन्न अवस्थाबारे नयाँ सहमति बनेको छ । दुवै देशले यो सम्झौतालाई ऐतिहासिक भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच रुसको सोचीमा भएको बैठकपछि सो सहमति बनेको हो ।

टर्की–सिरियाको सीमा क्षेत्रमा रुस र टर्की दुवै देशका सैनिक तैनाथ छन् । अमेरिकाले यो क्षेत्रबाट आफ्ना हजारौं सैनिक फिर्ता बोलाएपछि टर्कीले कुर्द लडाकूमाथि आक्रमण गरेको थियो । टर्कीले कुर्द समूहलाई आतंकवादी समूह भन्दै आक्रमण गर्दै आएको छ । टक कुर्द समूहले चरमपन्थी लडाकू समुह इस्लामिक स्टेट आईएसविरुद्धको कारबाहीमा महत्वपूर्ण भूमिका निभाएको थियो ।

टर्की र सिरिया मिलेर टर्की–सिरिया सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसलाई यो क्षेत्रमा बदलिँदो शक्ति सन्तुलनका रूपमा हेरिएको छ । अमेरिकाले गत साता कुर्द लडाकू र टर्कीको सेनाबीच युद्धविराम गराएको थियो । यसको समयसीमा मंगलबार सकिएलगत्तै रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो ।

कुर्द लडाकूले सम्झौताअनुसार आफ्ना लडाकू सो क्षेत्रबाट हटेको बताएको छ । तर, टर्की र रुसबीचको सम्झौताले लडाकू हटाउने समयसीमा बढाएको छ । उनीहरूले ३२ किलोमिटरको ‘सुरक्षित क्षेत्र’ छाड्नका लागि थप १५० घन्टाको समय दिएका छन् । उत्तरी सिरियाको कुर्द बलमा कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी)का मिलिसियाको दबदबा रहेको छ । टर्कीले यसलाई आफ्नो सीमामा रहेको खतराका रूपमा हेर्ने गर्छ ।

सम्झौताअनुसार सो क्षेत्रको सैन्य नियन्त्रण टर्की र रुसको हुनेछ । यसबाट अमेरिकाले अचानक छाडेपछि खाली भएको भूमिका दुई देशले निभाउनेछन् । अमेरिकी सैनिकको फिर्तीपछि टर्कीले ९ अक्टोबरबाट उत्तरी सिरियामा कुर्दमाथिको आक्रमण तीव्र पारेका थिए । यो क्षेत्रमा अमेरिकाले आर्ईएससँग लडिरहेका कुर्दलाई समर्थन गर्दै आएको छ ।

रुस सिरियाका राष्ट्रपति बसर अल असदको मुख्य सहयोगी हो । उसले सिरियामा विदेशी शक्तिको घुस्न नसकून् भनेर आफ्ना सैनिक तैनाथ गरेको छ । रुसी सैनिकका तैनाथीका कारण रुस र टर्कीबीच टकरावको आशंका रहँदै आएको थियो । रुसका राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोगान दुवै यो स्थितिबाट बच्न चाहेका थिए । दुई नेताबीच करिब ६ घन्टासम्म बैठक चलेको थियो ।

रुसले टर्कीलाई उत्तरी सिरियामा अभियान चलाउने सहमति दिएको छ । यसबाट दुवै देशबीचको टकराव तत्काललाई अन्त्य भएको छ । टर्कीले आफ्नो अभियान रास अल एनबाट तेल अब्यादबीच १२० किलोमिटरको इलाकामा चलाइरहेको छ । तर, एर्दोगान सीमाको पुरै ४४० किलोमिटर क्षेत्रको इलाकालाई ‘सेफ जोन’ बनाउन चाहन्छन् । रुस र टर्कीका तर्फबाट जारी वक्तव्यमा कुर्दलाई मनबिज र तेल रिफत सहरबाट हटाइने उल्लेख गरिएको छ । कुर्द मिलिसियाले अहिलेसम्म पनि उनीहरूलाई यो सहमति स्वीकार्य छ या छैन भन्नेबारे केही उल्लेख गरेका छैनन् । पछिल्लो चार वर्षदेखि अमेरिकाको अगुवाइमा रहेको गठबन्धनले कुर्द लडाकूमाथि विश्वास गर्दै आएको थियो । तर, टर्कीले कुर्दहरूको सम्पर्क टर्कीमा संघर्षरत विद्रोहीसँग रहेको भन्दै सो समूहलाई आतंकवादी समूहका रूपमा लिँदै आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको सीमाबाट सैनिक हटाउने भनेर गरेको निर्णयको अमेरिकामै कडा आलोचना भएको थियो । अमेरिकाको अनुरोधमा नै टर्की गत साता आक्रामक अभियान रोक्न सहमत भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो दुई साताको समयमा ८० हजार बच्चासहित १ लाख ७६ हजार मानिस सो क्षेत्रबाट विस्थापित भएका छन् । यो क्षेत्रमा करिब ३ लाख जनसंख्या रहेको छ ।

यसैगरी, बेलायतस्थित निगरानी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार संघर्षमा १२० जना सर्वसाधारणको मृत्यु भएको छ भने २५९ जना कुर्द लडाकू, १९६ जना टर्की समर्थित सिरियाली विद्रोही र ७ टर्कीका सेनाको मृत्यु भएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस