प्रधानमन्त्री एक्सन : लिपुलेकसहित चीन र भारतका सिमानामा सशस्त्रका २० पोस्ट राखिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • १६६ पटक पढिएको
Post Thumbnail

कार्तिक २४,काठमाडौँ । भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ ।

चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ । भौगोलिक रूपमा निकै कठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।

लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा ट्रान्जिट बनाउने सम्झौता गरेका थिए । सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आपराधिक घटना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो । ‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’

गत आर्थिक वर्ष ०७५/७६ मा सशस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा पुर्‍याएको छ । नेपाल र भारतीबीच एक हजार सात सय ५१ किलोमिटर लामो सीमा छ । जहाँ भारतको सशस्त्र सीमा बलको पाँच सय ११ बोर्डर पोस्ट छन् । भारतको तुलनामा सीमामा नेपालको उपस्थिति निकै कमजोर छ । गत साता गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव नारायण शर्मा दुवाडीले हरेक आठ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको कार्यालय राख्ने गरी सीमा सुरक्षाको योजना अघि बढाइएको बताएका थिए । जसका लागि करिब दुई सय १८ बीओपी आवश्यक पर्छ । हाल १६ किलोमिटरको फरकमा बीओपी छन् । बीओपीका लागि छुट्टै दरबन्दी आवश्यकता नपर्ने भएकाले कार्यालय खडा गरी जिल्लाका गण तथा गुल्मबाट खटाउन थालिएको छ ।

देशैभरका गणपति र गुल्मपति फेरिए

सशस्त्र प्रहरीका देशैभरका गण तथा गुल्मका प्रमुखहरू फेरिएका छन् । गणमा एसपी तथा गुल्ममा डीएसपीको कमान्ड हुन्छ । नयाँ आर्थिक वर्षसँगै गण र गुल्मपति फेरिएका हुन् । सशस्त्रले एक सय ५१ डीएसपी तथा ६२ एसपीको सरुवा गरी देशभरिका कार्यालय प्रमुखहरूको हेरफेर गरेको हो । गत वर्ष नै सशस्त्र प्रहरीले ७७ जिल्लामै आफ्नो कार्यालय स्थापना गरिसकेको छ ।

गणपति तथा गुल्मपतिका रुपमा सरुवा भएका एसपी र डीएसपीलाई अनुशिक्षण तालिमसमेत दिन थालिएको छ । तालिमका क्रममा योजना बनाएर काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिएका छन् । अनुशिक्षण कार्यक्रमको समापनका अवसरमा खनालले संगठनले ‘पफर्मेन्स बेस’ सरुवा बढुवा गर्ने उल्लेख गर्दै युनिट कमान्डरको रुपमा खटिएका अधिकृतहरूले आफ्नो कार्ययोजना तयार गरी अगाडि बढ्नुपर्ने र सोहीबमोजिम संगठनले मूल्यांकन गर्ने बताएका छन् ।

‘युनिट कमान्डरको रुपमा संगठनले तपाईहरूलाई अवसर प्रदान गरेको छ, अब तपाईहरूले त्यो अवसरलाई चुनौतीको रुपमा लिएर उत्कृष्ट कार्य गर्नुपर्छ,’ उनले भने । सशस्त्र प्रहरीका इन्चार्जहरूलाई व्यावसायिक बनाउन यस्तो तालिम सुरु गरिएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस