पौष ४, काठमाण्डौ । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई केहि दिन अगाडी मृत्युदण्डको सजाय सुनाईएको थियो । यस बिषयमाथि पाकिस्तानको विशेष अदालतले फेरि अर्को निर्णय सुनाएको छ । अदालतले भनेको छ कि ‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू ।’
गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् । मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् ।
तर पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ ।