फागुन २१, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले विकासलाई तिव्रता दिएसँगै भ्रष्टाचार, अनियमिता निर्मूलका साथै अपराधिहरुलाई कानुनी दायरमा ल्याउन थाले पछि त्यस्तै व्यक्तिहरुले कोलाहल तथा स्याल हुँईयाँ गर्न शुरु गरेको बताएका छन् ।
नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तर्गत ७३ लाख ४० हजारको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको झ्यालीपाटीबाट बस्नेत टोल-भट्टराई टोल हुँदै डोलेश्वर जाने चख्खुखोला पुल निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजो तस्करि गर्ने, माफियातन्त्रहरु लुकेर नेता र प्रशासकहरुका आडमा छत्रछाँयामा लुकेर बसेका थिए त्यसलाई प्रधानमन्त्रीले स्प्रे गरिदिएकोले गर्दा कतिपय मिडिया, सामाजिक सञ्जाल अनावश्यक स्यालहुँईया हुने गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने, ‘राष्ट्र नायक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोठामा जताततै लामखुट्टे लुकेको हुन्छ, स्प्रेबाट औषधी छरेपछि घाँईय र घुईँय गर्दै कराउँछन् । त्यो नछरुन्जेल चाँही लामखुट्टे छैनन् जस्तो हुने तर वर्तमान सरकारले स्प्रे छरेको छ । भ्रष्टाचारीलाई कानुनी उपचार भएको छ । हिजो तस्करी गर्ने, माफियातन्त्रहरु लुकेर नेता र प्रशासकहरुका आडमा छत्रछाँयामा लुकेर बसेका थिए त्यसलाई प्रधानमन्त्रीले स्प्रे गरिदिनुभयो, जसले गर्दा कतिपय मिडिया, सामाजिक सञ्जाल अनावश्यक स्यालहुँईया हुने गरेको छ । त्यसको कुनै तुक छैन, अर्थ छैन । यस्ता विकृति तथा विसंगतिलाई नियन्त्रण गरेरै छाड्छौं ।’
प्रधानमन्त्रीले नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुले आशाको किरण बलेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको जोस र जाँगरले नै भक्तपुरको विकास अहिलेको गतिमा अघि बढेको स्पष्ट पारे । उनले भने , ‘बाघ हेर्न मन लागे विरालो हेर्नु, बाघ हेर्न सकिएन भने विरालो हेर्दा बाघ कस्तो हुन्छ भनेजस्तो भक्तपुरको विकास र भक्तपुरको नेतृत्व हेरेपछि प्रधानमन्त्री ओलीले भक्तपुर तथा देशभर गर्नुभएको विकासको अवधारणा आउँछ ।’
गाउँ र शहर विचको सम्बन्ध पुलले स्थापीत भएको बताउँदै उनले भक्तपुरको विकास र समृद्धिको महत्वपूर्ण योजनाको रुपमा रहेको शिवशर्किट निर्माणको प्रकया समेत सूर्यविनायक नगरपालिकाले अघि बढाएको बताए । अरनीको राजमार्गको आदर्श चोकबाट वडा कार्यालय हुँदै घ्याम्पेडाँडासम्म जाने सडक यो वर्ष रातोकितामा पार्न सफल भएको १४ करोड ५० लाख बजेट विनियोजन भई काम अघि बढेको जानकारी गराउँदै उनले अघिल्लो वर्ष र यो वर्ष गरी २९ वटा पुलहरु निर्माण भइरहेको र अब करिव ८/१० वटा माग रहेकोले आगामी वर्ष ति सवै आवश्यक पुलहरुको निर्माण सम्पन्न गरी त्यसपछि भक्तपुरका साविकका सडकहरुमा पुल आवश्यक छैन भन्ने अवस्था सिर्जना हुने समेत बताए ।
हनुमन्ते नदीको कोरिडोरमा सडक तथा ढल सहित करिव तीन करोड बजेट व्यवस्थापन भएको र आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने बताउँदै उनले भक्तपुरका विभिन्न ठाउँहरुमा जग्गा प्लानिङको कामहरु भइरहेकाले कित्ता काटको रोकीयो भनि जनताले चित्त नदुखाउन आग्रह गर्दै अब भक्तपुरमा नयाँ र आधुनिक सहर हुने बताए । त्यस्तै उनले जनताको माझ गरेका चुनावी प्रतिवद्धताभन्दा बढी कामहरु भइरहेको उल्लेख गर्दै खेलकुद, खानेपानीलगायतका जनताका अति आवश्यक मागहरु तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले जनताको मत तथा सहयोगले नै नगरपालिकाको विकास र समृद्धि हासिल भएको उल्लेख गर्दै क्यालेण्डर बनाएर नै जनताको विकास प्रतिको चाहना पुरा गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै वडा नं.८ का वडाध्यक्ष किरण थापाले डोलेश्वर जाने बैकल्पीक मार्गको रुपमा रहेको उक्त पुल निर्माणसँगै आत्रिक तथा वाह्य पर्यटकलाई सवारी आवागमनमा हुने समस्या समाधान हुने विश्वास व्यक्त गरे । विकास निर्माणको सवालमा कुनै पनि समस्या आए समाधान गर्न जनप्रतिनिधिहरु तयार रहेको उल्लेख गर्दै उनले कामको गुणस्तरियता तथा निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।