फाल्गुण २६, काठमाण्डौ । खानेपानीको पाइप फुटेर हैरान बनाएको काठमाण्डौका अधिकास सडक विभागले अघिल्लोे हप्तामा कालोपत्रे गरेको छ । यही सडकलाई नै देखाएर सरकारको धेरै आलोचना हुन थालेपछि विभागले तीव्रताका साथ सडक मर्मत गरेको हो । काम छिटो गराउन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा राति–राति निरीक्षणमा समेत खटिएका थिए । सडक विभागको भनाइ मान्ने हो भने अब काठमाडौंभित्र आफ्नो अधिकार क्षेत्रभित्रका थोरै सडकमात्र टलिने गरी कालोपत्रे गर्न र खाल्डा पुर्न बाँकी छन् । तीमध्ये कतिपयमा ठेकेदारको लापरबाही र स्थानीयको अवरोधले समस्या भएको छ । कतिमा ठेक्का नै लाग्न सकेको छैन भने कतिपय सडकमा खानेपानी र ढलका पाइप फुट्ने समस्याले काम गर्न नसक्ने अवस्था छ ।
राती सडकमा भइरहेको कामको निरीक्षण गर्दै महानिर्देशक शर्मा
तथ्यांकअनुसार काठमाडौं उपत्यकाभरि करिब ९ सय किलोमिटर सडक छ । त्यसमध्ये ५ सय किलोमिटर विभिन्न सरकारी निकाय र सडक स्थानीय तहको जिम्मामा छन् भने करिब ४ सय किलोमिटर सडक विभागले हेर्छ । सडक विभागले ८ मिटरभन्दा फराकिलो सडक हेर्छ भने त्योभन्दा साना सडक स्थानीय तहले । अहिले ८ मिटरभन्दा फराकिला सडकहरु धमाधम कालोपत्रे भइरहेका छ । कालोपत्रे नभएका सडकमा पनि खाल्डाहरु पुर्ने काम भइरहेको छ ।
सडक विभागको दाबीलाई पत्याउने हो भने फागुन महिनाभित्र काठमाडौंभित्र आफ्नो कार्यक्षेत्रका प्रायः सबै सडकको खाल्डा पुर्ने काम सकिने छ । विभागमा महानिर्देशक शर्माका अनुसार यो वर्ष पानी परेर समस्या भएको बाहेक हरेक दिन निर्धारित कामहरु रोकिएका छैनन् । मर्मतको कामलाई जोडबलका साथ अघि बढाए कै कारण हिउँदमै सडकहरुको अवस्था राम्रो बनाउन सकिएको उनको भनाइ छ ।