चैत्र २८,काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणको उपचारमा उपयोगी हुने भन्दै विश्वभरि नै अहिले औलो रोगको नियन्त्रणका लागि प्रयोग हुने एउटा औषधिको माग बढिरहेको छ। विभिन्न देशका सरकारहरूले यो औषधिको जोहो गर्न थालेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उक्त औषधिको निर्यात खुला गर्न आग्रह गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको बताएका थिए।
मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतले उक्त औषधिको निर्यात नखोले उसले पनि नराम्रो परिमाण भोग्नुपर्ने हुन सक्ने बताए।
भारतको विदेश मन्त्रालयले चाहिँ औलोको सहित केही औषधिको निर्यातलाई आंशिक खुला गर्ने निर्णय गरिएको जनाएको छ। त्यसलगत्तै भारतमा विपक्षी नेताहरूसहित कतिपयले सरकारले आफ्नै देशलाई पर्याप्त औषधि भए नभएको निर्क्योल नगरी निर्यात खुलाएको भन्दै विरोध जनाएका छन्।
विदेश मन्त्रालयले चाहिँ त्यस्तो यकिन गरेर नै आंशिकरूपमा निर्यात खोलिएको जनाएको छ। विश्वभरि उच्च माग र चर्चामा रहेको औलोका लागि प्रयोग हुने उक्त औषधिको नेपालमा भने कति उत्पादन र मौज्दात रहेको छ त ?
त्यसबारे जानकारी लिन बीबीसीले नेपाली औषधि उत्पादकहरू र सरकारी अधिकारीसँग कुराकानी गरी प्राप्त गरेका जानकारी यस्ता छन् :
नेपालमा कस–कसले उत्पादन गर्छन् ?
औषधि उत्पादकहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित नेपालका तीनवटा उद्योगले औलो रोगका लागि प्रयोग हुने औषधि उत्पादन गरिरहेका छन्।
हाइड्रक्सीक्लोरक्वाईन वा एचसीओएस भनिने उक्त औषधि काठमाण्डूका देउराली जनता फार्मस्युटिकल प्रा.लि र क्यूमेड फर्मुलेशन प्राली तथा वीरगन्जस्थित मारुती फर्मा प्रा.लिले उत्पादन गर्दै आएको व्यवसायीहरूले बताए।
एसोशिएसन अफ फार्मस्युटिकल प्रोडक्टस् अफ नेपाल (एप्पोन) का अध्यक्ष नारायण क्षेत्रीले भने, ‘नेपालमा हाल तीन उद्योगहरूले यो औषधि उत्पादन गरिरहेका छन्। उनीहरूसँग पाँचदेखि सात लाखवटा ट्याब्लेट बनाउने कच्चा पदार्थ मौज्दात रहेको छ। त्यो भनेको ५० हजारदेखि ६० हजार बिरामीका लागि पुग्ने मौज्दात हो।’
हाइड्रक्सिक्लोरोक्वाईन औलो रोगको उपारमा प्रयोग हुन्छ
तर अहिले विश्वभरि नै कच्चा पदार्थको भाउ बढेकाले उद्योगीहरूले थप कच्चा पदार्थ नल्याएको उनले बताए।
उनले भने ‘भोलि बिरामी धेरै बढेर थप उत्पादन गर्नुपर्दा पनि उद्योगीहरू तयार छन् तर त्यसका लागि कच्चा पदार्थ ल्याउने वातावरण सरकारले तयार पारिदिनुपर्छ।’
कतिपय उद्योगीले केही मात्रामा उक्त औषधि कोभिड–१९ को उपचारका लागि सरकारलाई नि.शुल्क उपलब्ध गराउने घोषणा पनि गरेका छन्।
देउराली जनता फार्मस्युटिकलले चार लाखवटा उक्त औषधिको ट्याब्लेट सरकारलाई दिने घोषणा गरिसकेको छ।
कम्पनीका सञ्चालक हरिभक्त शर्माले सरकारलाई उक्त औषधि दिनका लागि पत्राचार पनि गरिसकेको जानकारी दिए।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपालमा उत्पादन गर्ने तीन कम्पनीबाहेक अन्य दुई कम्पनीले विदेशबाट पनि उक्त औषधि आयात गरिरहेका छन्।
उत्पादक र आयातकर्ताहरूसँग भएको मौज्दात हेर्दा अहिले नेपालमा करिब नौ लाख ट्याब्लेट रहेको उनले जानकारी दिए।
-बिबिसी नेपालीबाट