वैशाख ७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको २७ दिन भएको छ । यसबीचमा गरिएको कोरोना परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये तीन जना सफल उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।
संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन शनिबार हिजो उदयपुरमा अर्का एकजनालाई संक्रमण पाइएको थियो । उपचारपछि निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक,एक जना हुन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको छन् । अहिलेसम्म उपत्यकामा पाँच र उपत्यका बाहिर १ सय १२ जना गरी १ सय १७ जना एकान्तवासमा छन् । ८ हजारभन्दा बढीमा कोरोनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख छ । ७ हजार ९८७ जनामा संक्रमण देखिएको छैन ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि र नेपालमै पनि संक्रमित फेला पर्न थालेपछि सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेको थियो । बन्दाबन्दीले नागरिकको दैनिक जीवन र सामाजिक क्रियाकलाप भने ठप्प भएको छ । अत्यावश्यक काम र सेवाका लागि भने छुट दिइएको छ । सरकारले विहान तीन घन्टाका लागि मात्र अत्यावश्यक सामग्री खरिद गर्न समय दिएको छ ।