वैशाख ८, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्ला दुई दिनमा घर फर्किनेको संख्या तीन रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई, धौलागिरी अस्पतालका एक र सेती प्रादेशिक अस्पताल धनगढीबाट दुई जना निको भएर घर फर्किएका हुन् । तीमध्ये दुई पुरुष र दुई महिला छन् ।
पछिल्लोपटक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३६ वर्षीय राज विक १६ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या चार पुगेको हो ।
हालसम्म पहिलो, दोस्रो, छैटौं र नवौं संक्रमित निको भएर घर फर्किएका हुन् । अन्य २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका हुन् । २२ चैतमा कोरोना पोजेटिभ देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।
यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल डिस्चार्ज भइसकेका छन् ।
चीनको वुहान सहरबाट नेपाल फर्किएका ३२ वर्षीय पुरुष सरुवा रोग अस्पतालबाट गत माघ तेस्रो साता पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए ।