वैशाख १०, काठमाडौं । नेपालमा कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि भएको छ । बुधबार थप दुईजना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ । बुधबार सेती अस्पताल धनगढीबाट एक ४० वर्षीय पुरुष र काठमाडौंको टेकु अस्पतालबाट ३४ वर्षीय पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रायले जनाएको छ । सेती अस्पतालबाट डिस्चार्ज हुने नवौं कोरोना संक्रमित हुन् । उनी चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका थिए । उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो ।
यस्तै टेकु अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो कोरोना संक्रमित हुन् । धादिङ ३२ वर्षीय ती पुरुष चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । काठमाडौंको एक होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । दुवैजनाको कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसअघि काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला,धनगढीको सेती प्रादेशिक अस्पतालबाट १९ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन् ।