नुवाकोटमा निर्माणाधिन सोलारबाट राष्ट्रिय प्रसारण प्रणालीमा बिद्युत् थपियो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २२, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १।२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई अगाडि बढाउँदै लगेको सन्दर्भमा सौर्य परियोजना क्रमशः सम्पन्न हुने चरणमा प्रवेश गरेको हो ।

कूल २५ मेगावाट जडित क्षमता भएको सौर्य परियोजनामध्ये बुधबारदेखि १।२५ मेगावाट बराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । सौर्य आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको प्राधिकरणले जनाएको छ । दिउँसो घाम लागेका आधारमा १।२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने जनाइएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रको स्वामित्वमा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने गरी व्यवस्था गरिएको छ । कूल २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण आइइई प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको छ ।

सरकारले दीर्घकालीनरूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्य राखी आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात कार्यान्वयनमा ल्याएको छ । सरकारको योजनाअनुसार प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज ३० देखि ३५ प्रतिशत, अर्धजलाशययुक्त ९पिकिङ रन अफ द रिभर० २५ देखि ३० प्रतिशत, नदी प्रवाही ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट पाँचदेखि १० प्रतिशत बराबरको अनुपात रहने व्यवस्था गरिएको छ ।

विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावरहाउस नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने गरी सौर्य प्रणाली जडान गरिएको छ । अहिले देवीघाट विद्युत्गृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादन गर्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देवीघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६÷३३ केभीको नयाँ सवस्टेशन पनि निर्माण भइरहेको छ । सवस्टेशन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । उनले सवस्टेशनका उपकरण निर्माणस्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण धमाधम भइरहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विसं २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो । प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानूनी प्रक्रिया पूरा गर्न धेरै समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गरेका कारण थप समय लागेको हो । त्यसलाई परामर्शदाताले पटक–पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाइदियो जसले गर्दा शुरुमा तय गरिएको निर्माण तालिका प्रभावित भएको आयोजना प्रमुख रघुवंशीको भनाइ छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरूपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा ग्यारेन्टेड इनर्जी आपूर्ति गर्नुपर्ने छ ।

प्लान्ट पूर्णरूपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौँ लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने प्राधिकरणको विश्वास छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेजस्ता अर्धजलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान पिक समय सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणले लिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस