-राज ढुंगाना
असार ८,काठमाडौँ । बस्नेतछाप (काठमाडौ)–सिस्नेखोला (धादिङ) सुरुङमार्ग निर्माणले लकडाउनकै बीच गति लिएको छ । सरकारले महत्वपुर्ण विकास निर्माणका कामहरु अघि बढाउने योजना अन्तर्गत यो सुरुङमार्ग निर्माणका अधिकांश गाँठोहरु फुक्दै गएको छ । सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फ रहेको श्री ५ को गुठीका मोहिलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेसंगै अब सुरुङमार्गको काम थप रफ्तारमा हुने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रदेशसभा सांसद राजेन्द्र पाण्डेले सोमबार भर्खरै आएका आयोजना प्रमुख रुपक राजभण्डारीको भेटमा भने–मैले त श्री ५ को वायुगुठीमा के को यति प्रतिशत मुआव्जा ? पुरै रकम जनताको नाममा दिँउ भनेको थिए तर सरकारले ५० प्रतिशत मुआब्जा दिने निर्णय गरेको छ । सरकारले जतिसक्यो त्यो गर्यो । अव मुआव्जा वितरणमा ढिला नगरी वितरण गर्न सुरु गरिहाल्नपर्छ । राजभण्डारी यसभन्दा अघि आयोजना प्रमुख श्यामप्रसाद खरेलको अवकाशपछि आएका हुन् ।
अर्थको रोक्का फुक्कापछि धमाधम मुआव्जा वितरण
छलफलमा राजभण्डारीले सरकारले ५० प्रतिशत मुआव्जा दिने निर्णय गरेपनि अर्थ मन्त्रालयले कोरोना भाइरसको महामारीका कारण अहिले मुआव्जा वितरणमा रोक लगाएको बताए । उनले भने–’यतिबेला अर्थले मुआव्जा वितरणमा रोक्का गरेको छ, अव रोक्का फुक्कापछि धमाधम मुआव्जा वितरण सुरु हुन्छ । उनले ३/४ दिनमा अर्थले रकम वितरण गर्न स्विकृत दिएपछि पैसा दिने काम सकेसम्म असारमा सकिनेगरी गछौँ । यद्यपी जग्गावालाले मुआव्जा पाउनको लागी आफ्नो सम्पुर्ण कागजात तयार पार्नुपर्छ । उहाँहरु अव तयार हुँदा हामीलाई सजिलो हुन्छ ।’
धादिङतर्फ १ सय ९ रोपनी जग्गामा २ कित्ताको मुआव्जा जग्गाधनीले लिइसकेको आयोजना प्रमुख राजभण्डारीले बताए । उनले सुरुङमार्गको काम धादिङतर्फ निरन्तर भइरहेको बताए । उनले भने–लकडाउनकै बीचमा नी काम भइरहेको छ । जापानीज कम्पनीले काम १ दिनपनि अवरोध भयो भने क्षतिपुर्ती माग्छ, यो कुरा हामी सबैले बुझ्नपर्छ । अहिले सुरुङको मुखनेर आधार तयार पार्ने काम भइरहेको छ, माटो सम्याउने काम भइरहेको छ ।
सवारी पास गराउन सहायक सडक बनाउन उपयुक्त
नेता पाण्डेसंगको छलफलमा आयोजना प्रमुख राजभण्डारीले सिस्नेखोलापट्टी सुरुङमार्गकै सिधा सडकको लागी धार्केसम्म डिजाइन तयार पारिएकोले भोलीको दिनमा सुरुङबाट निक्लिएर सिधा सडकमै सवारी पास गराउन पासरोड बनाउन उपयुक्त हुने बताए । उनले भने–भोली राजमार्गको पुरानो सडक खण्ड (सिस्नेखोला–नौविसे) मा केही बर्षपछि चाप बढ्छ, त्यसैले सहायक सडक बनाउन उपयुक्त हुन्छ भन्ने धारणाका साथ पहिला सडक बनाउने योजना बनाइएको हो ।
सो क्रममा नेता पाण्डेले पासरोड बनाउदा धार्के–सितापाईला सडकको धार्केमा निर्माण भएको पुलमै जोड्न सकिनेगरी सडकको योजना बनाउन पर्ने विचार व्यक्त गरेका थिए । उनले यस विषयमा थप छलफल गर्न सकिने विचार व्यक्त गरेका थिए ।