असार १२, काठमाण्डौ । युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले जनाएको छ । संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको देखिएको हो । अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो क्रममा रहेको र यो अति चिन्ताको विषय भएको डब्लुएचओका क्षेत्रीय निर्देशक डा। हान्स हेनरी क्लुगले बताएका छन् । महामारीको दोस्रो लहर आउने सम्भावना देखिएको र सावधानी नअपनाइएमा स्वास्थ्य सेवा अति कमजोर हुने चेतावनी उनले दिएका छन् । डब्लुएचओका अनुसार युरोपमा अहिलेसम्म २६ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख ९५ हजार भन्दा बढीको ज्यान गएको छ ।
युरोपमा पछिल्लो समय दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सय भन्दा बढीको मृत्यु हुने गरेको देखिएको छ ।