साउन २०, काठमाण्डौ । गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्र्डओमिटरमा उल्लेख छ । यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ । यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन् ।