भाद्र १७, काठमाण्डौ । तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो बाहिर ल्याएका विजयप्रकाश मिश्रले आफू भागेको भन्ने हल्ला गलत भएको बताएका छन् । मिश्रले बुधबार विज्ञप्ति जारी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान पुगेको बताए ।
‘म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन्, अख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ । नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो गत जेठमा सार्वजनिक भएको थियो। अडियो सार्वजनिकसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको नाममा बुधबार नै सात दिने सूचना जारी गरेको छ । कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो।’
उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन् । ‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा बाहिर आउन बाँकी कुराहरू अझै गर्भमा दबिएर बसेका छन्, यी सबै प्रमाणहरू अख्तियारसमक्ष पेश गरिने छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । कसैको दबाब वा कुरा सुनेर आफू नबहकिने पनि मिश्रले बताएका छन् ।