भाद्र २६, काठमाण्डौ । झण्डै ५१ दिनको स्थगनपछि नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । लामो समय अवरुद्ध स्थायी कमिटी बैठक नयाँ एजेन्डासहित शुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि स्थायी कमिटीका एजेण्डा तय गरेका थिए । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलको सुझावको आधारमा स्थायी कमिटी बैठकका नयाँ एजेण्डा तय भएका हुन् ।
असार १० गते शुरू भइ पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गते छोटो समयका लागि बसेको थियो । साउन १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेला भएपनि त्यो भेलाले औपचारिक मान्यता पाएको थिएन । स्थायी कमिटीको बैठक शुक्रवार नै टुङ्ग्याउने नेकपाको तयारी छ ।