एजेन्सी । चीनको बढ्दो प्रभावलाई निस्तेज पार्न बनेको ‘चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ क्वाड समूहले रणनीतिहरु बनाइरहेको छ । क्वाड समूह अन्तर्गत भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।
क्वाड समूहमा आबद्ध ती राष्ट्रहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ता राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा छलफलका लागि बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार बाइडेनले क्वाडका नेताहरुका लागि व्यक्तिगत शिखर सम्मेलनको आयोजना गर्नेछन् । सम्मेलन आगामी हप्ता सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा आयोजना हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै जानकारी दिएकी छिन् ।
बैठकका लागि जापानका प्रधानमन्त्री योसिहिदे सुगा, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता अमेरिका पुग्ने कार्यतालिका रहेको समेत समाचारमा उल्लेख छ ।
सेप्टेम्बर २१ मा अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा आयोजना हुँदैछ । त्यसबेला बाइडेनले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघको महासभाकै समयमा क्वाडका नेताहरु अमेरिका पुग्नेछन् ।
यसअघि गत मार्चमा क्वाडको पहिलो सम्मेलन भएको थियो । कोरोनाका कारण भएको अनलाइन बैठकमा क्वाडका नेताहरुले कोरोनाविरुद्ध एक भएर लड्ने, खोप सहयोगसँगै जलवायु परिवर्तनविरुद्ध मिलेर लड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै सो क्षेत्रमा चीनको आक्रामकताविरुद्ध लड्ने वाचा गरेका थिए ।
साकीले क्वाड बैठकबारे भनेकी छिन्,‘क्वाडका नेताहरुलाई अमेरिकामा बोलाएर छलफल गर्नुले २१ औं शताब्दीका चुनौतीहरुलाई सामना गर्न नयाँ बहुपक्षीय व्यवस्थासहित हिन्द–प्रशान्तमा संलग्न हुने बाइडेन–ह्यारिस प्रशासनको प्राथमिकता देखाउँछ ।’
साकीले क्वाडका नेताहरुले छलफलका क्रममा सम्बन्धलाई थप मजबुत बनाउने, कोरोनाविरुद्ध लड्ने, जलवायु संकटको विषय सम्बोधन गर्ने तथा उदयमान प्रविधि र साइबरस्पेसमा साझेदारी गर्ने विषयमा छलफल गर्ने जानकारी दिइन् । यस्तै उनले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रलाई बढावा दिन व्यावहारिक सहयोगलाई अगाडि बढाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइन् ।
इन्डो–प्यासिफिक क्षेत्रको विषयमा छलफल गर्नुको अर्थ चीनविरुद्धको नीति यो बैठकले तय गर्ने अनुमान गरिएको छ । क्वाडको बैठकमा अफगानिस्तानको विषयमा पनि छलफल हुनेछ । २० वर्षपछि अमेरिकी सेनाहरु फर्किएपछि यतिबेला तालिबानले नयाँ शासन व्यवस्था लागू गरेको अवस्था छ ।
चीनले क्वाड समूहलाई आफूलाई घेर्न बनाइएको समूहको रुपमा व्याख्या गर्दै आएको छ । इन्डो–प्यासिफिक क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले दाबी प्रस्तुत गर्ने गर्दछ ।
चीनले त्यहाँ कृतिम टापु नै खडा गरेको छ। चीनसँगै दक्षिण चीन सागरलाई फिलिपिन्स, मलेसिया, भियतनामजस्ता राष्ट्रले पनि आफ्नो भएको बताउँछन् । जसका कारण यो जलक्षेत्र विवादमा छ ।
पछिल्लो समय चीनले दाबी गर्ने यो सागरमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, जर्मनीजस्ता देशका सैन्य जहाजहरु तैरिन गरेको छ । यी राष्ट्रले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छ ।
यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको थियो ।
रोयटर्सको सहयोगमा