राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १०, शनिबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

बैशाख १०,काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति कायम गर्ने मुख्य लक्ष्य लिएर गुट्रेस मस्को जान लाग्नुभएको खबरमा उल्लेख छ ।

यसैबीच, युक्रेनका उप–प्रधानमन्त्री लिर्याना भरेस्चुकले रुसले कब्जा गरेको मारिउपोलबाट नागरिकको उद्धारको लागि संयुक्त राष्ट्रसँग अपिल गरेका छन् ।

मारिउपोलमा एक लाखभन्दा धेरै नागरिक खाना, पानी, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद भएर कठिन अवस्थामा रहेको भन्दै उपप्रधानमन्त्री भरेस्चुकले संयुक्त राष्ट्र सङ्घको सहयोग माग्नुभएको खबरमा उल्लेख छ ।

नागरिकको उद्धार गर्ने काम अब संयुक्त राष्ट्र सङ्घबाट मात्रै सम्भव भएको उनले बताएका छन् ।

यस्तै, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनमा गरेको आक्रमण एउटा सुरुवात मात्रै भएको चेतावनी दिएका छन्।

गएराति भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले रुसले अहिले युक्रेनमा आक्रमण गरेजस्तै भविष्यमा युरोपका अन्य देश पनि कब्जा गर्ने उद्देश्यसहित आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी गरेका छन् ।

युरोपेली देश र अमेरिकाले युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्नुपर्ने र रुसमाथिका प्रतिबन्ध अझै कडा बनाउँदै लगेमा मात्रै रुसीको शक्तिको उन्मादलाई कम गर्न सकिने जेलेन्स्कीको भनाइ छ ।

यस्तै, अमेरिकाले पनि युक्रेनलाई थप सहयोग गरेर रुसलाई परास्त गर्न भन्दै अर्को हप्ता २० वटा देशसँग बृहत् छलफल गर्ने भएको छ ।

जर्मनीमा हुने छलफलमा नेटोमा आबद्ध देशसहित २० देशको सहभागिता रहने अपेक्षा गरिएको अमेरिकाले जनाएको छ । अमेरिका, बेलायत, पोल्यान्ड लगायतका देशले रुससँग लड्नको लागि युक्रेनलाई अत्याधुनिक हतियार पठाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस