बैशाख १४, काठमाडौँ । सन् २००७ मा गरेको श्रम सम्झौता खारेज गर्दै नेपालबाट शून्य लागतमा कामदार लैजाने विषयमा यूएई र नेपालबीच नयाँ सहमति भएको छ।
सहमतिअनुसार केही दिनभित्रै दुई देशबीच श्रम सम्झौता हुने भएको छ।
काठमाडौंमा २ देशका प्राविधिक टोलीबीच भएको छलफलको अन्तिम मस्यौदाका आधारमा यही महिनाभित्र श्रम सम्झौता गर्नेगरी सहमति भएको हो।
अब यूएई जाने कामदारले भिसा शुल्क, हवाई टिकट, म्यानपावरको सेवा शुल्क, बिमा र मेडिकललगायत शीर्षकमा अतिरिक्त पैसा तिर्नु नपर्ने भएको छ।
छलफलपछि तयार पारिएको अन्तिम मस्यौदाका विभिन्न बुँदामा नेपाली कामदारले तिर्नुपर्ने लागत शून्य हुने विषयमा पटकपटक कुरा उठाएर श्रमिकले कुनै शुल्क तिर्नु नपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
अब रोजगारीका लागि यूएई जाने नेपालीको कार्यगत र मेडिकलसमेत २ प्रकारका बिमाको व्यवस्था गरिएको छ। यो बिमा रकम रोजगारदातालै बेहोर्नुपर्ने मस्यौदामा राखिएको छ।