बैशाख २८, कपिलवस्तु । कपिलवस्तुबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ।
कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६ सय ४० बोरा मल नियन्त्रणमा लिएको हो। चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ।
चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो।
शनिबार बिहान कम्पनीमा मल पुगेछि पप्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।
युरिया मल आज कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए। युरिया मल औद्योगिक प्रयोजनका लागि हो कि कृषि प्रयोजनको हो भन्ने विषयमा एकिन नभएकाले नियन्त्रणमा लिएको प्रजिअ पोखरेलले बताए।
किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारी मात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ। कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी भन्छन्, ‘हामी मलका लागि भौतारिरहेका छौँ तर कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो? यो सोचनीय विषय भएको छ।’
जय अम्बे प्लाइउड इण्डट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इण्डट्रिजका सञ्चालक अशोककुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ।रासस