जेठ ५,काठमाडौँ । प्रहरीले ३४ लाख ८९ हजार २ सय रुपैयाँसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई छन् ।
महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
‘त्यहाँ कोठा भाडामै लिएर उनीहरुले हुण्डी कारोबार गरिरहेका रहेछन्’, उनले भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गरेका हौं ।’
बोगटीका अनुसार उनीहरुको साथबाट हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण पनि बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।