जेठ १६,काठमाडौँ । मुलुकमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४÷७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी तथ्याङ्क छ ।
आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा थिए । आव ०७४/७५ मा मुनाफा केही बढेर ४३ अर्ब ४४ रुपैयाँ पुगेको छ । आँकडाअनुसार केवल ५ वटा संस्थानले कूल मुनाफाको ८१.७५ प्रतिशत हिस्सा ओगटेका छन् ।
जम्मा ६५ संस्थानमध्ये अहिले ३९ वटा मात्र अस्तित्वमा छन् भने तीमध्ये पनि ३६ वटा मात्र संचालनमा रहेका छन् । संचालनमा रहेका १८ वटा संस्थान पूर्ण सरकारी हुन् । यस्तै, १७ वटा संस्थानमा सरकारको ठूलो हिस्सा शेयर रहेको छ । सरकारले सामाजिक क्षेत्रमा सञ्चालित संस्थानमा बढी लगानी गरेको छ । बन्द अवस्थामा रहेका केही संस्थानले पनि भाडाबाट आम्दानी गर्दै आएको अर्थ मन्त्रालयले जनाएको छ ।
आव २०७०/७१ मा सबै संस्थानहरुको खुद मुनाफा केवल ५ अर्ब ७६ करोड रहेकोमा ५ वर्षमा ४३ अर्ब रुपैयाँ पुगेको छ ।
उच्च नाफा गर्ने ५ संस्थान
सबैभन्दा बढी मुनाफा नेपाल टेलिकमले कमाएको छ । सो कम्पनीले एक वर्षमा १७ अर्ब ४८ करोड रुपैयाँ आर्जन ग¥यो । दोस्रो स्थानमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ४३ करोड रुपमा कमायो ।
त्यसपछि राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६५ करोड, नेपाल आयल निगमले ३ अर्ब ५८ करोड र कृषि विकास बैंकले ३ अर्ब ४३ करोड कमाएका छन् । बाँकी २१ संस्थानले ११ अर्ब ४८ करोड मात्र मुनाफा आर्जन गरेको देखिन्छ ।
सार्वजनिक संस्थानहरुले आव २०७४/७५ मा सरकारलाई झण्डै १ खर्ब राजस्व तिरेका छन् । तथ्यांकअनुसार उक्त आवमा संस्थानबाट ९४ अर्ब ६ करोड ८८ लाख राजस्व प्राप्त भएको छ ।
यस आवमा सबैभन्दा बढी राजस्व तिर्ने संस्थान पनि नेपाल आयल निगम नै रह्यो । दोस्रो स्थानमा भने नेपाल दूरसंचार कम्पनी रहेको तथ्यांक छ । यस आवमा यी दुई संस्थानले मात्र क्रमशः ५४ अर्ब ३१ करोड र २४ अर्ब २५ करोड राजस्व तिरेका छन् । समग्रमा सार्वजनिक संस्थानले सरकारलाई तिरेको करको हिस्सा भने १२.८३ प्रतिशत रहेको छ ।