असार १६,काठमाडौँ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् । साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ ।
यसअघिका रुटहरुलाई विस्तार गरेर साझाका ७१ वटा बसले अब काठमाडौंमा मुख्य रुटहरुमा बस सञ्चालन गर्नेछन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा २० बस ल्याइएका हुन् ।
यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।
साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।
अन्तर्राष्ट्रट्रय युरो(४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक ले(ल्यान्डले पाएको थियो ।
हाल ल्याइएका बस यसअघिका बसभन्दा केही छोटो छन् । यसअघि ११ मिटरको बस ल्याइरहेको साझाले यसपटक ९ मिटरको बस ल्याएको छ ।
लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चेर विद्युतीय बस ल्याउने योजना बनाएको छ । ललितपुर महानगर पालिकाले पनि २ अर्ब ५० करोड रुपैयाँ विजुली बसका लागि साझालाई दिँदैछ ।