भाद्र ८, बुटवल। नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादन बढाउने क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । आइतबार रुपन्देहीको बुटवलमा मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकको मर्ज कार्यक्रममा गभर्नर नेपालले आफू सँग भएको पैसाको उपयोग नगर्ने परिपाटीको विकास भएकोमा दुःख व्यक्त गरे ।
लगानीलाई जतिधेरै परिचालन ग¥यो उति धेरै प्रतिफल प्राप्त हुने भन्दै पैसालाई निष्कृय रुपमा राख्न नहुने उनको भनाइ थियो । अति छोटो समयमै मर्जर हुन सक्नु वित्तीय क्षेत्रमै खुशीको कुरा रहेको बताउँदै नेपालले बैंकका सञ्चालक तथा कर्मचारीहरुको स्वच्छ आचरण र केही गर्नुपर्छ भन्ने धारणा रहेको बताए ।
त्यसैगरी प्रदेश न.५ का योजना आयोग उपाध्यक्ष डा. ईश्वर गौतमले बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणमा खम्बाको रुपमा रहेको धारणा राख्दै तिनाउ मिसन डेभलपमेण्ट बैंक पनि एउटा खम्बा भएको बताए ।
गौतमले तीन जिल्ला कार्यक्षेत्रका बैंकहरु एक आपसमा मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने चाहनालाई प्रशंसा गर्दै अग्रिम शुभकामना दिए ।
उक्त बैंकको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु एक अर्ब १४ करोड ४१ लाख र चुक्ता पूँजी पनि रु एक अर्ब १४ करोड ४१ लाख रहेको छ । बैंकको जगेडा तथा अन्य कोषहरु रु.२६ करोड छ लाख, निक्षेप संकलन रु.१० अर्ब २० करोड, कर्जा प्रवाह रु.आठ अर्ब ९२ करोड, संचालन मुनाफा रु.१९ करोड ७६ लाख र खूद मुनाफा रु.१२ करोड ५६ लाख रहेको छ ।
३९ वटा शाखा सञ्जाल मार्फत करिब एक लाख सेवाग्राहीले सेवा लिईरहेको बैंकको बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक सँगको एक्विजिशन प्रक्रिया अगाडी बढिसकेकोले बैंक थप मजवुत भइ राष्ट्रिय स्तरको बैंकको रुपमा छिट्टै स्थापित गर्न सक्ने दावी गरेको छ ।
सोही अवसरमा बुटवल–४ पाल्पारोडमा अवस्थित बैंकको नवनिर्मित भवन पनि उद्घाटन गरेको छ । आजबाटै बुटवलमा अवस्थित तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकले तिनाउ मिशन डेभलपमेण्ट बैंकको रुपमा एकिकृत कारोबार शुरु गरेको छ ।