कोशी प्रदेशको बजेट सर्वसम्मत पारित,खर्च कटौतीको प्रस्ताव फिर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १३, बुधबार (५ महिना अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १३,विराटनगर । कोशी प्रदेशसभाको आज बुधवार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ सर्वसम्मतले पारित भएको छ ।

‘कोशी प्रदेश आर्थिक अध्यादेश २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ लाई पारित गर्न मुख्यमन्त्री केदार कार्कीले पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावलाई सभाध्यक्ष हाजी इसराई मन्सुरीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यही मङ्सिर ९ गते सदनमा पेस भएको प्रस्तावमाथि लगातार दुई दिन प्रदेशसभाका ३१ जना सदस्यले छलफलमा भाग लिई सुझाव दिएका थिए ।

प्रस्तावमा खर्च कटौतीका लागि आठ जना प्रदेशसभा सदस्यले दर्ता गरेको प्रस्तावमा सामान्य मत राखी प्रस्ताव फिर्ता लिएका थिए । खर्च कटौतीका लागि रेवतीरमण भण्डारी, विदुरकुमार लिंथेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, भक्तिप्रसाद सिटौला, गोपालबहादुर विश्वकर्मा र निरन राईले दिएको मन्तव्यमा मुख्यमन्त्री कार्कीले सङ्घीयतालाई दरिलो र कसिलो बनाउन संसदमा गहन बहस र छलफल हुनु आवश्यक रहेको बताए ।

उनले विनियोजन विधेयकमा कुनै समस्या वा त्रुटि देखिएमा त्यसलाई सुधार गर्ने सरकारसँग सुविधा रहेको प्रतिबद्धता जनाएपछि खर्च कटौतीको प्रस्ताव फिर्ता भएको थियो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही मङ्सिर १९ गते दिउँसो १ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस