सुस्त अर्थतन्त्र

अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था छैन् : अर्थमन्त्री पुन

४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको आशा
  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ७५ पटक पढिएको
अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था छैन् : अर्थमन्त्री पुन

बैशाख २०,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गरे ।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । यो नौ महिनाका प्रक्षेपण हुन् । आर्थिक वर्ष अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्चहरु हुन्छ । हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौं । अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो ।’ मन्त्री पुनले भने ।

यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो । मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए । नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरु भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’ उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस