बैशाख ३१, काठमाण्डौँ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर(आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । सो कार्यको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ ।