वैशाख ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड डाइनोस्टिक टेस्टलाई तीव्रता दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टका कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै सुरुमा काठमाडौँ महानगरपालिकाले पहिलोपटक वडा नम्बर–५ का ३९ जनाको र्यापिड डाइनोस्टिक टेस्ट गराएको थियो । काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आइतबार भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको हो । वसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको थियो । टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए। उनले वडा–१२, १३ र १४ को टेष्टको पनि परीक्षण जारी छ ।
त्यसैगरी शुक्रबार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो। जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो। त्यस्तै वडा–१५ का ४८ जनाको पनि टेष्ट भइसकेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको संका लागेकालगायत व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन ३२ वटै वडामा यस प्रकारको परीक्षणलाई तिव्रता दिएको जानकारी दिए ।