वैशाख २१, काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् । कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताए । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उनको भनाइ छ ।
“अनलाइनबाट विद्यार्थी भर्ना लिने कुरा सम्भव तथा व्यावहारिक छैन । बन्दाबन्दीको विषयमा सरकारबाट जारी निर्देशन उल्लङ्घन गर्ने कुरा पनि भएन”, प्याब्सन अध्यक्ष पुरीको भनाइ छ । बन्दाबन्दीको विषयमा सरकारले वैशाख २६ पछि लिने निर्णय हेरेर अघि बढ्ने उनको भनाइ छ । सरकारबाट बन्दाबन्दी आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ । प्याब्सनले आफू मातहतका धेरै विद्यालयले विद्यार्थीको नतिजा भने प्रकाशित गरेको जनाएको छ । वैशाख १९ सम्म नतिजा प्रकाशित गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन दिएको थियो ।
केही विद्यालयका अन्तिम परीक्षा अझै नसकिएकाले वैशाख २५ भित्र कक्षा ९ सम्मको नतिजा प्रकाशित गर्न आग्रह गरिएको उनले बताए । केही पालिकाका निजी विद्यालयले अझै परीक्षा लिन नसकेका कारण विद्यार्थीको यसअघिको आन्तरिक परीक्षाका आधारमा अन्तिम नतिजा प्रकाशित गर्न भनिएको उनले जानकारी दिए ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल एनप्याब्सन नेपालका अध्यक्ष ऋतुराज सापकोटाले बन्दाबन्दीको यस अवधिमा विद्यार्थीलाई अनलाइन भर्ना नगरिएको बताए । विद्यार्थी भर्नाको विषय अभिभावकको आर्थिक पक्षसित समेत जोडिएकाले अहिले त्यो अवस्थासमेत नरहेको उनले बताए ।