वैशाख २५, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ संक्रमित उपचारपछि निको हुने क्रम बढ्दै गएको छ । अहिलेसम्म विश्वभर संक्रमितमध्ये १२ लाख ९९ हजार २ सय ४४ जना उपचारपछि निको भएका वल्र्डओमिटरले जनाएको छ । बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म ३८ लाख १८ हजारभन्दा धेरै संक्रमित भएका छन् । संक्रमितमध्ये अहिले २२ लाख ५५ हजार ७ सय ७८ जना उपचारको क्रममा छन् । उपचारमा रहेका अधिकांशको अवस्था सामान्य छ। संक्रमितमध्ये ४८ हजार २ सय १ जनाको अवस्थामात्र गम्भीर छ ।
बुधबार विश्वभर ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट २ लाख ६४ हजार २ सय ५२ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा विश्वमा ६२ सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा गएको २४ घण्टामा १९ सय ७४ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या ७४ हजार नाघेको छ । त्यहाँ संक्रमितको संख्या १२ लाख ५८ हजार ८ सय २ पुगेको छ ।
त्यसैगरी बेलायतमा बुधबार कोरोना संक्रमणबाट ६ सय ४९ जनाको ज्यान गएपछि त्यहाँ मृतकको संख्या ३० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा बुधबार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा ३२३, इटालीमा ३६९, स्पेनमा २४४, फ्रान्समा २७८, क्यानाडामा १८०, मेक्सिकोमा २३६ जनाले ज्यान गुमाएका छन् । हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । बुधबार एकै दिन भारतमा ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।