नेपालको भरतपुर महानगर र अष्ट्रेलियाको मेरिबेक सिटी काउन्सिलबीच ऐतिहासिक भगिनी सम्बन्ध स्थापना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (७ घण्टा अघि)
  • ४६ पटक पढिएको
नेपालको भरतपुर महानगर र अष्ट्रेलियाको मेरिबेक सिटी काउन्सिलबीच ऐतिहासिक भगिनी सम्बन्ध स्थापना

जेठ १,काठमाडौँ । नेपालको चितवन जिल्ला अन्तर्गत पर्ने भरतपुर महानगरपालिका र अष्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्नमा अवस्थित मेरिबेक सिटी काउन्सिलबीच अब भगिनी सम्बन्ध स्थापना हुने पक्का भएको छ। हालै सम्पन्न मेरिबेक सिटी काउन्सिलको बोर्ड बैठकमा काउन्सिलर क्रिस माइल्सले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेसँगै, यी दुई शहर औपचारिक रूपमा सिस्टर सिटी (Sister City) बन्ने प्रक्रियामा प्रवेश गरेका छन्।यो निर्णयसँगै भरतपुर महानगर अष्ट्रेलियाको कुनै पनि नगरसँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो नेपाली महानगर बन्ने गौरव प्राप्त गर्न लागेको हो।

यो सम्बन्ध केवल औपचारिकताको लागि नभई दीर्घकालीन सहकार्य, आपसी समझदारी, सांस्कृतिक आदानप्रदान र द्विपक्षीय सहयोगको मार्गचित्र बन्ने अपेक्षा गरिएको छ।प्रस्ताव पारित भएपछि अब आगामी जुन महिनामा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र मेरिबेक सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसनबीच मेलबर्नमा औपचारिक भेटघाटको कार्यक्रम तय गरिएको छ। यो भेट अघि दुबै नगरबीच सम्भावित सहकार्यका क्षेत्र, सांस्कृतिक आदानप्रदान, शैक्षिक र प्रविधिक साझेदारी, व्यापार प्रवर्द्धनलगायतका पक्षमा विस्तृत योजना तथा सहमति पत्रको खाका तयार पारिनेछ।

यो सिस्टर सिटी सम्बन्धले भरतपुर महानगरलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनुका साथै अष्ट्रेलियाली नगरहरूसँग आपसी अनुभव, प्रविधि र विकासका उपायहरू बाँडफाँट गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाली समुदायका लागि गौरवको क्षण

भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत (Honorary Consul) निराजन गौलीले यो ऐतिहासिक निर्णयले नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्धमा नयाँ अध्याय थप्ने बताएका छन्। उनले भने, “यो सम्पूर्ण नेपाली समुदायको लागि गर्वको कुरा हो। अष्ट्रेलियामा पहिलो पटक कुनै सहरले नेपाली महानगरसँग औपचारिक सिस्टर सिटी सम्बन्ध गर्न लागेको छ, जुन लामो समयदेखि गरिरहेको प्रयास, कूटनीतिक संवाद र साझा उद्देश्यको सफल परिणाम हो।”

उनका अनुसार यो सम्बन्ध स्थापनासँगै भरतपुर महानगरका लागि नयाँ अवसरहरू सिर्जना हुनेछन् – चाहे त्यो शिक्षा, स्वास्थ्य, पर्यटन वा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा होस्।

मेरिबेक सिटी काउन्सिल नेपाली समुदायका लागि विशेष महत्वको क्षेत्र हो। सन् २०२१ को अष्ट्रेलियन जनगणना अनुसार, यस सिटी काउन्सिलमा झण्डै २.२ प्रतिशत बासिन्दाले घरमा नेपाली भाषा बोल्ने गरेका छन्। ग्लेनरोय, फकनर, ओक पार्क जस्ता क्षेत्रहरू यसै काउन्सिल अन्तर्गत पर्दछन्, जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ। नेपाली विद्यार्थीहरूका लागि पनि मेलबर्न विशेष गरी मेरिबेक क्षेत्र आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

योभन्दा अघिल्लो पटक भरतपुर महानगरपालिका र अष्ट्रेलियाकै न्यू साउथ वेल्स राज्यको रकडेल सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास भएको थियो। तर त्यो प्रक्रिया निष्कर्षमा पुग्न सकेन। तर, यस पटक मेरिबेक सिटी काउन्सिलसँगको सम्बन्धले सरकारी, गैरसरकारी तथा समुदायस्तरमा सकारात्मक प्रतिकृया पाइरहेको छ, जसले गर्दा सफलताको सम्भावना अझ प्रबल देखिएको छ।

भरतपुर महानगर र मेरिबेक सिटी काउन्सिलबीचको यो ऐतिहासिक सिस्टर सिटी सम्बन्ध केवल दुई नगरबीचको सम्बन्ध मात्र होइन, नेपाल र अष्ट्रेलियाबीचको गहिरिँदो मित्रता र आपसी समझदारीको प्रतिविम्ब पनि हो। यसले नेपाली समुदायको पहिचानलाई अष्ट्रेलियामा अझ सशक्त बनाउने मात्र होइन, भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा एक अग्रगामी र सहकार्यप्रेमी सहरको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस