असार ३, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरसबाट दुई हजार भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म २४ घण्टामा चार सय समेत ननाघेको अवस्थामा मंगलबार एकैदिन २ हजार ४ जनाको ज्यान गएको हो । योसंगै भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ११ हजार ९२१ पुगेको छ । विश्वमै २४ घण्टामा सबैभन्दा बढी भारतमा ज्यान गएको हो ।
त्यस्तै २४ घण्टामा ११ हजार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा यो विश्वमै तेस्रो हो । कोरोनाबाट संक्रमित हुने ३ लाख ५४ हजार १६१ जना संक्रमित भएका छन् ।
निको हुनेको संख्या पनि बढी नै रहेको छ । २४ घण्टामा ७ हजार २२८ जना निको भएका छन् । अहिलेसम्म १ लाख ८७ हजार ५५२ जनालाई निको भइसकेको छ ।
कुन राज्यमा कहाँ कति ?
महाराष्ट्रमा सबैभन्दा बढी २७ सय १ जना संक्रमित थपिएर १ लाख १३ हजार ४४५ जना संक्रमित हुँदा २४ घण्टामा १ हजार ४०९ जनाको ज्यान गएको छ । मृतक ५ हजार ५३७ पुगे ।
२४ घण्टामा दिल्लीमा ४३७, तमिलनाडुमा ४९, गुजरातमा २८, उत्तर प्रदेशमा १८, राजस्थानमा ७, वेष्ट बंगालमा १०, मध्य प्रदेशमा ११, हरियाणामा १८, कर्नाटकमा ७, बिहारमा १, आन्ध्रप्रदेशमा २ जनाको ज्यान गएको छ ।
त्यस्तै तेलंगानामा ४, जम्मूकश्मीरमा १, पंजाबमा १, उत्तराखण्डमा १ जनाको ज्यान गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले संक्रमित बढ्दै जानुबारे मन्त्रीहरुसंग छलफल गरे पनि लकडाउन कडाइमा कुनै पहल गरेका छैनन् ।