कोरोना संक्रमणबाट १६ देशमा २०० नेपालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड १९ संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको मृत्यु भएको छ । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कूल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

यस्तै नेपालमा मात्र ४५ हजार २७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये २७ हजार १२७ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ । नेपालमा २८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित जम्मा ४८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ८० हजार २१६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार ११० जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस