असोज १५, काठमाण्डौ । विश्वभर पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमण भएका ६ हजार १८४ जनाको मृत्यु भएको छ । आठ दिनपछि पुनः एकैदिन मृत्यु हुनेको संख्या ६ हजार नाघेको हो । बुधबार भारतमा सबैभन्दा बढी एक हजार १७९ जनाको मृत्यु भयो । त्यस्तै अमेरिकामा ९५३ र ब्राजिलमा ९५२ जनाको मृत्यु भयो । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ७३८ र ब्राजिलमा एक लाख ४३ हजार ९६२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ९८ हजार ७०८ पुगेको छ ।
कोरोनाभाइरस संक्रमणबाट गएको १७ अप्रिलमा विश्वमा सबैभन्दा धेरै आठ हजार ५१३ जनाको मृत्यु भएको थियो । त्यसअघि १५ अप्रिलमा आठ हजार २४४ जनाको मृत्यु भएको थियो । यी दुई दिनबाहेक एकैदिन आठ हजारभन्दा बढीको मृत्यु भएको छैन । तर, मृत्युदर भने घटबढ भइरहेको छ । मृत्यु सबैभन्दा उच्च विन्दुमा पुगेको दिन १७ अप्रिलपछि २४ मेमा सबैभन्दा कम तीन हजार २८६ र ८ जुनमा तीन हजार ३१२ संक्रमितको मृत्यु भएको थियो । तर, पछिल्लो आठ दिनमा गएको मंगलबार सबैभन्दा कम तीन हजार ८८३ जनाको मृत्यु भएको थियो ।