कार्तिक ३, पोखरा । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान गण्डकीका सचिव जीवनराज सापकोटाले विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताए ।
यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।
यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने यो चक्रिय मार्ग पछिल्लो समय मोटरेबल बाटोले विस्थापित गदै १४ दिनमा झरेको छ ।