मंसिर २९, काठमाडौ । विदेशमा हालसम्म करिब ५० हजार नेपालीहरू कोरोना संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो । स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३ प्रतिशत रहेको हो ।
विश्वका विभिन्न २० मुलुकमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ। सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै संघले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करिब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने जनाएको छ।