फागुण १४, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट १० हजार चार सय ६२ जनाको मृत्यु भएको छ भने चार लाख ४० हजार आठ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा नै सबैभन्दा बढी रहेको छ । अमेरिकामा दुई हजार तीन सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार चार सय ९४ जना संक्रमित थपिएका छन् ।
यसैगरी ब्राजीलमा एक हजार पाँच सय ८२ जनाको मृत्यु भएको छ भने ६७ हजार आठ सय ७८ जना संक्रमित थपिएका छन् । मेक्सिकोमा संक्रमणको तुलनामा मृत्युदर निकै बढी देखिएको छ । त्यहाँ एक हजार ६ जनाको मृत्यु भएको छ भने ८ हजार छ सय ४२ जना संक्रमित थपिएका छन् ।
मेक्सिकोमा हालसम्म २० लाख ६० हजार नौ सय आठ जना संक्रमित भएकोमा १ लाख ८२ हजार आठ सय १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा रुसमा चार सय ४६, बेलायतमा तीन सय २३, फ्रान्समा दुई सय ६१, स्पेनमा तीन सय ४५, इटालीमा तीन सय आठ, जर्मनीमा तीन सय ९३, पोल्यान्डमा दुई सय ८६ जना, इन्डोनेसियामा दुई सय ६४, पेरुमा दुई सय २० जनाको मृत्यु भएको छ ।