जेठ ९, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोरु गाउँपालिका-१० शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालत काठमाण्डौमा म्द्दा दायर गरेको हो ।
अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, सहायक सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, वडा नम्बर १० का तत्कालीन कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) का अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल कार्की तथा सडक निर्माण अनुगमन समितिका संयोजक दलवीर सार्की र समिति सदस्य धमैराज जैसीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनीहरूले भए/गरेको कामभन्दा २३ लाख २२ हजार रुपैयाँ बढी भुक्तानी लिइ अनियमितता गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।