तीनकुने घटनामा संलग्नविरुद्ध मुद्दा दर्ताको तयारी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (७ घण्टा अघि)
  • ६६ पटक पढिएको
तीनकुने घटनामा संलग्नविरुद्ध मुद्दा दर्ताको तयारी

जेठ ९, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजातन्त्र पक्षधरले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरीले अनुसन्धान सकेर हिजो प्रतिवेदन बुझाएलगत्तै सरकारी वकिलको कार्यालय मुद्दा दर्ताको तयारी थालेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रमाणहरुको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए ।

काफ्लेका अनुसार घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने तयारी छ ।

संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि अनुसन्धान गर्दै आएको घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै दुई दिनको म्याद थप भएको छ ।

आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । त्यस्तै, हाजिरी जमानीमा रिहा भएका रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न ठाउँहरुमा आगजनी र लुटपातका घटना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस