माघ ८, काठमाडौं । डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका २१ जना सदस्यहरु मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट पक्राउ परेका छन् ।
वाइड बडी खरिदमा संसदलाई ढाटेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज ल्याउँदा भएको भ्रष्टाचारमा संलग्न मुख्य दोषीहरुलाई कारबाही माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रहरीले प्रदर्शनमा उत्रिएका समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाईँ, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल र केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर परिसरमा राखिएको छ ।