माघ ९,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पतालबाट डिस्चार्ज भएका छन।
भाइरल ज्वरोबाट पीडित भएपछि मंगलबार प्रचण्ड ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा केही सुधार भएपछि डिस्चार्ज भएर निवासमा लगिएको छ ।
उनलाई कम्तिमा ४ दिन घरबाहिर ननिस्कन डाक्टरले सुझाव दिएका छन् ।
‘उहाँलाई कम्तिमा ४ दिन घरबाहिर नजान डाक्टरले सुझाव दिएका छन्, उहाँ डाक्टरकै निगरानीमा रहनुहुनेछ’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
भाइरल ज्वरोले सताएपछि सोमबार राति सुमेरु अस्पतालमा भर्ना भएकी खानेपानीमन्त्री तथा प्रचण्डकी बुहारी विना मगरको स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ । उनलाई पनि केही दिन भिडभाड र धुलोधुँवामा नजानेगरी बुधबार बेलुकी डिस्चार्ज गरिने पारिवारिक स्रोतले जनाएको छ ।
रुघाखोकी, ज्वरो र चिसोले सताएपछि आइतबार अस्पताल भर्ना भएकी प्रचण्डपत्नी सीता दाहालको पनि सुमेरु अस्पतालमा उपचार भैरहेको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने डाक्टरहरुले जनाएका छन् । सीतालाई सुगर, प्रेसर र पाठेघरको समस्या छन् । गएको वर्ष छोरा प्रकाशको निधन भएपछि सीतामा अरु समस्या पनि थपिएका छन् ।