माघ ११,सिरहा । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक फड्को भएको टिप्पणी गरेका छन । संसद बैठक पछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन ।
चिकित्सा शिक्षा विधेयक पारित हुनुले अब नेपालमा गुणस्तरीय चिकित्सक उत्पादनका साथै विपन्न वर्गका विद्यार्थीलाई पनि चिकित्सा शिक्षा अध्ययनका लागि बाटो खोलेको बताए ।
विधेयक पारित भएसँगै नेता भट्टराईले आमरण अनसनमा बसेका डा.गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन आग्रह गरे ।
‘डा.केसीले उठाउनुभएको सबै विषयलाई विधेयले समेटेको छ,’ भट्टराईले भने, अब डा.केसीले चिकित्सा शिक्षाको विषय लिएर कहिल्यै पनि यस्तो कठिन संघर्ष गर्न पर्दैन ।’
नेता भट्टराईले अब डा. केसीको नाम उचालेर राजनीति गर्ने दिन सकिएको भन्दै सदनबाट पारित भएको विधेयक कार्यान्वयनको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे ।