माघ १३, दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।
कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई शनिवार तनहुँमा सम्बोधन गर्दै उनले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बताए।
उनले हुकुमी शासन लाद्ने र देशमा अधिनायकवाद आउने कसैले सोचेको छ भने त्यस्तो सोच त्याग्न आग्रह गरे। चुनावबाट काङ्ग्रेस विस्थापित भएपछि छटपटाएको आरोप लगाउँदै वरिष्ठ नेता नेपालले जनताकै सेवाका लागि सरकार गठन भएकोले वर्तमान सरकार जनताबाट टाढा भाग्न नसक्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उनले सरकारको बारेमा आएका गुनासा जायज भए त्यस्ता जायज गुनासालाई सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराए। निरन्तर जनताका पक्षमा काम गरेकोले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको चर्चा गर्दै वरिष्ठ नेता नेपालले जनताको विश्वास र समर्थनलाई पूरा गर्नेतर्फ सरकार अघि बढेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि अहिलेको आवश्यकता रहेकोले त्यसतर्फ सरकार अघि बढेको बताए। सरकार गठन भएको छोटो अवधिमा सरकारले धेरै काम गर्न नसकेपनि राम्रो काम गरेको चर्चा गर्दै उहाँले सरकारलाई सफल बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सैद्धान्तिक सहमति भए नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दुई तिहाईको सरकार असफल बनाउने षड्यन्त्र भएकाले त्यस्ता षड्यन्त्रलाई चिर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री भिमप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष शङ्कर बराललगायतले एकदेव आलेको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा वरिष्ठ नेता नेपालले प्रतिष्ठानले निर्माण गरेको भवनको उद्घाटन गर्नुका साथै स्मारिकाको समेत विमोचन गरेका थिए ।
रासस