माघ १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माघ २१ गत देशैभर सरकारका विरुद्ध विरोधसभा गर्ने निर्णय गरेको हो।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको र पूर्व सभापतिद्वयको नाममा रहेको अस्पताललाई केन्द्र मातहत नराखेको विरोधमा ७७ वटै जिल्लामा सभा गर्न लागेको हो।
शुक्रबार प्रतिनिधिसभाको बैठकले प्रमुख प्रतिपक्षी कांग्रेसको नाराबाजीका बीच चिकित्सा विधेयक पारित गरेको थियो। त्यसको विरोधमा संसद र सडकबाट सरकारविरुद्ध उत्रने घोषणा गरेको कांग्रेसले माघ २१ गते सबै जिल्लामा विरोधसभा गर्ने भएको छ।
त्यस्तै कांग्रेसले संवैधानिक परिषदको विपक्षीको हैसियतमा आफ्नो उपस्थिति विनै भएको निर्णयविरुद्ध सर्वोच्चमा रिट हाल्ने भएको छ।
माघ ६ गते बसेको संवैधानिक परिषदले पाँचवटा आयोगमा अध्यक्ष सिफारिस गरेको थियो। संवैधानिक प्रावधानअनुसार विपक्षी दलको नेता परिषदको बैठकमा उपस्थिति अनिवार्य मानिन्छ।