माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १४ गते नै स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि आन्दोलन छाडेर स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रहसमेत दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सरकारका केही मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुको आइतबार साँझ संयुक्त बैठक राखेर प्रधानमन्त्री ओलीले स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए ।
‘लोकतन्त्र बलियो बनाउन यस्ता निर्वाचन रोकिनु हुँदैन,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘त्रिभुवन विश्वविद्यालयले चुनाव गराउने भए त्यसका लागि सुरक्षा लगायतका सहयोग गर्न सरकार तयार छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै, तर त्यसअघि सरकारले अहिलेका राजनीतिक मुद्दाहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताएका थिए । देउवाले अहिले आफूहरुको आन्दोलन चलिरहेको र केही कार्यकर्ताहरुलाई प्रहरीले पक्रेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री ओलीले भने ति सबै कुरा छाडेर स्ववियु निर्वाचनमा आउन आह्वान गरेका थिए ।