माघ २२,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालसहित सिंगापुर, मलेशिया, भारत, थाइल्याण्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक–फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।’
चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भन्दै उनले यसतर्फ सबैको ध्यान जानुपर्ने पनि बताएकी छन् ।
राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमंगका साथ देशमा शान्ति, सदभाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेकी छन् ।
उनले सोनाम ल्होछारको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सदभावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।
तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा आज शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको औंल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गरेका छन् ।