बैशाख ३,बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न आग्रह गरेका छन् ।
‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भने, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’ उनले विष्णु पौडेललाई जसले ठग्यो उसैले क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।
प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले तथ्यविपरीत सरकारको आलोचना गरेकमा असन्तुष्टि जनाए ।
‘पहिला रेल र पानीजहाजको कुरा गर्दा नपत्याउनेहरुले अहिले रेल आएपछि नेपाललाई के कति फाइदा हुन्छ भनेर बहस गर्न प्रश्न गर्न थालेका छन्,’ प्रवक्ता बाँस्कोटाले भने, ‘अब रेल र पानीजहाज आउने भएपछि ल्याउन हुन्न कि भनेर गरिने बहस घातक छ ।’
चीनको ग्रेटवाल पनि एकै दिनमा नबनेको उल्लेख गर्दै उनले सरकारसंग विकास र समृद्धिको स्पष्ट भिजन र समर्पण भएकाले धैर्य गर्न आग्रह गरे ।
अहिले पनि देश निर्माण कि आलोचना भन्नेमा द्वन्द्व रहेको उल्लेख गर्दै कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको मन्त्री बास्कोटाले बताए ।
सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित,व्यवसायिक,देशभक्त बनाउन चाहेको पनि उनले उक्त अवसरमा स्पष्ट पारे । अन्तर्राष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतै पनि यस्तो नहुने दाबी गरे । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उनले अन्तरिक मामिलामा जति विभाजित भए पनि अन्तर्राष्ट्रिय मामिलामा एकजुट बन्न आग्रह गरे ।
सरकारका प्रवक्ता बास्कोटाले बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गरे । जग्गा प्रकरणमा पद, ओहोदा, विचारले छानविन र कारवाहीलाई प्रभावित नगर्ने उनले दाबी गरे ।