बैशाख ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विद्वानको देश भनेर विश्वसामु चिनाउनुपर्ने बताए । ‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताएका छन । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्दछ’, प्रम ओलीले भने, ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’
प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारेका छन । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रम ओलीले भने, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’
गएको वर्षदेखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
यसवर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने ।
अन्तरक्रियामा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल पनि उपस्थित थिए ।