बैशाख ६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छन् ।
भ्रमणकाक्रममा उनी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछिन् ।
साथै, राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् ।
उनी अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनेछिन् भने त्यहाँ रहेको नेपाली मन्डपको अवलोकन गर्ने कार्यक्रम छ ।
नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
उनले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राजधानी बेइजिङमा रहँदा उनले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्नेछिन् ।
राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।
बेइजिङ प्रस्थान गर्नेक्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नेछिन् भने स्वदेश फर्कंदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नेछिन् । उनले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग भेटवार्ता गर्नेछिन् ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी रहनेछन् ।
राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । रासस